विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरेका छन् ।
सभामुखको उम्मेदवार चयन गरेर चाडै संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गर्दै देउवाले संसदलाई बन्धक बनाउन नमिल्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताएका छन् ।
नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै सभापति देउवाले नेपालको विकासमा अमेरिकाले दिएको ग्राहायतालाई अनुमोदन गरेर जानुपर्ने बताए ।
सभापति देउवाले पार्टीको महाधिवेशनको समय कुनै पनि हालतमा परिवर्तन नहुने दावी गरेका छन् । असन्तुष्ट पक्ष पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सहमत भइसकेको देउवाले दावी गरेका छन् ।