काभ्रे । पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सडक निर्माणको क्रममै स्काभेटर तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिएका छन् । सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गरिरहेको छ ।
दुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भै दिदीको घरमा आएका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । त्यस्तै दुर्घटनामा स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ का २७ बर्षिया जीवन ताम्राकार गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको बताएको छ ।