काठमाडौं । मिटर व्याजमा ऋण लगानी गेरेर ठगी गरेको आरोपमा सर्लाही बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन् । यादवलाई वुधवार बिहान सर्लाहीको हरिपुरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरीले जनाएको छ । यादवसँग ऋण लिएर पीडित भएकाहरू न्याय माग्दै काठमाण्डौं पुगेको भोलि पल्टै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ऋण प्रवाह गर्दा चर्को ब्याज असुल गरेको, ऋण बुझाई सक्दा पनि कपाली तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता गुनासो बोकेर ५० जना भन्दा बढी पीडित सङ्घीय राजधानी काठमाडौं पुगेका छन् ।
पीडितले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृह सचिव पे्रमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाई दिन माग गरेका छन् ।
अर्का मिटरब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय साह रौनियारबाट पीडित भएकाहरू पनि न्याय माग्दै काठमाडौं पुगेका छन् ।
पक्राउ परेका यादवमाथि अनुसन्धान थालिएको बताइएको छ । राजपाका केन्द्रीय सदस्य समेत रहेका यादव स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए । तर, ९ हजार ९ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहे भने तत्कालीन माओवादी केन्द्रका देवानन्द महतो ७ हजार ३ सय ८ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए ।
यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए । उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।
सर्लाहीका मिटरब्याजी श्याम परदेशी पीडितहरु न्याय माग्दै काठमाडौं आएको एक महिनापछि मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडितहरु पनि सङ्घीय राजधानी नै पुगेका हुन ।
मिटर ब्याजी श्याम परदेशी अहिले पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।