काठमाडौँ । ललितपुर किक बक्सिङ संघको आयोजनामा ‘वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ हुनेभएको छ । नेपाली कांग्रेसका नेता एवं लौह पुरुष गशेणमान सिंहको सम्झनामा संघले माघको २, ३ र ४ गते बक्सिङ प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगिताका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलले प्रतियोगितामा करिब ३० लाख खर्च हुने बताए । उनले प्रतियोगिताका लागि गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न संघसंस्था र शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने जानकारी दिए । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाआयोजित पत्रकार सम्मेलनमा महर्जनले बक्सिङ प्रतियोगिता गोदावरी नगरपालिकाको चापागाउँस्थित खुला मैदानमा हुने जानकारी दिएकोछ ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । समापनको दिन माघ ४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विजयी भएका खेलाडीहरूलाई पुरस्कार वितरण गर्ने महर्जनले बताए । ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले प्रतियोगितामा कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आईटीएफ, फुल कन्ट्र्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुने जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र खुला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
त्यस्तै महिला तौल समूहमा ५० केजी, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ३० हजार, द्वितीय हुने खेलाडीलाई १५ हजार, तृतीय हुने खेलाडीलाई आठ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष महर्जनले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई २५/२५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । सबैभन्दा धेरै स्वर्णपदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरूप एक लाख नगद, द्वितीय हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।सहभागी टिमलाई ब्रेकफास्ट र लन्चको व्यवस्था गरिएको संघका अध्यक्ष महर्जनले बताए । उपत्यकाबाहिरका खेलाडीहरूलाई खाना र बसोवासको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।