काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ‘एसपी’ दानबहादुर मल्लले वल्लतल्ल चितवन छाडेका छन् । पुस ४ गते उनको सरुवा भएपनि अटेर गरेर बसेका थिए ।
प्रदेश प्रहरी कार्यालय, हेटौंडाले १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन बुधबार पत्र पठाएर निर्देशन दिएपछि एसपी मल्लले चितवन छाडेका हुन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् । एसपी मल्लको अटेरीका कारण चितवनमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन् ।
एसपी मल्लमाथि राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेको छ । प्रदेश प्रहरी कार्यालय, हेटौंडाले दिएको कडा निर्देशन अनुसार शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएका छन् ।