जलेश्वर । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई जलेश्वरमा आज सम्बोधन गर्दै यादवले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने बताए । उनले आफूहरुको आन्दोलनलाई मधेशी जनताले सधैँ सहयोग गरिरहने पनि बताए ।
उनले भने, ‘आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।’
अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे ।
उनले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गरे ।