काठमाडौं । गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन प्रहरीलाई निर्देशन दिएको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको बताइएको छ ।
गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गराइदिन प्रहरीलाई पत्राचार गरेको हो ।
उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
यसैवीच उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले वताएका छन् । मन्त्री भुसालले आगामी दिनमा किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको जानकारी पनि दिएका छन् ।
व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताउँदै मन्त्री भुसालले उत्पादन क्षेत्र बलियो नभएसम्म मुलुकमा विकास र समृद्धि हासिल गर्न कठिनाइ हुने धारणा व्यक्त गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शद्वारा सोमबार आयोजित ‘नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उनले देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुवै मारमा परेको अवस्था रहेको बताउँदै सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने बताए ।
चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तयारीबिना मुलुकलाई आत्मनिर्भर गर्ने भनेर कृषिजन्य आयातमा भन्सार बढाउँदा उपभोक्ता मारमा परिरहेको बताए । नेपाली उत्पादनलाई निर्यात गर्ने सन्दर्भमा गुणस्तर चिन्ह र प्याकिङजस्ता विषयमा प्रश्न उठाइएको अवस्था रहेको बताउँदै उनले मुलुकको ग्रार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिएको कृषि क्षेत्रको विकासका लागि कृषकलाई मलखादमा अनुदान, कम ब्याजमा ऋण, शीतभण्डारणको सुविधा र बजारको व्यवस्था हुनुपर्ने बताए ।
सो अवसरमा चेम्बर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, कृषि समितिका सभापति कृष्णमान श्रेष्ठ, कृषिविज्ञ शरद्चन्द्र श्रेष्ठ, कृषक मिङमार शेर्पा, नेपाल जडीबुटी सङ्घका प्रतिनिधि गोविन्द घिमिरेले अनुकूल हावापानी र माटोको परीक्षण गरी पकेट क्षेत्र तोकेर व्यावसायिक खेती गर्न सरकारले कृषकलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।