धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ । विसं २०६६ मा कार्यालय स्थापना भई २०६८ देखि निर्माणकार्य शुरु भएको यो आयोजनाको अहिलेसम्म वित्तीय प्रगति ४४ दशमलव १८ प्रतिशत भएको आयोजना कार्यालयका सूचना अधिकारी एवं डिभिजनल इञ्जिनीयर प्रेम लासिवाले बताउनुभयो ।
जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको इन्टेक (मुहान)मा पानी नियन्त्रण गर्ने आठवटा ढोकाका साथै ‘लिङ्क क्यानल‘ निर्माणको काम पूरा भएको छ । मुहानमा चाहेको समयमा पानी छोड्ने र बन्द गर्नका लागि कम्प्युटर प्रणालीबाट स्वचालित उपकरण जडान गर्ने काम भइरहेको छ ।
इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिन‘को काम पनि पूरा भएको छ । लम्कीको नहर विस्तारतर्फको काम बाहेक मूलनहर र फिडर नहरको काम पूरा भएको छ । मूलनहरको दक्षिणतर्फको फिडर नहर दश दशमलव ५० किलोमिटर लामो छ ।
यस्तै लम्कीतर्फको पथरैयासम्मको विस्तार नहर १४ दशमलव ६५ किलोमिटर लामो रहेकोमा छ किलोमिटर लामो पक्की नहर निर्माण पूरा भइसकेको छ । लम्की विस्तारतर्फको बाँकी भागमा निर्माण गर्नुपर्ने नहरका संरचनाका लागि सो क्षेत्रको नम्बरी जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । ऐलानी जग्गाको हकमा सम्बन्धितलाई राहत दिने प्रक्रिया अघि बढाइएको छ ।
दक्षिण तर्फको फिडर नहरमध्ये रानीको इन्टेकसम्मको नहर निर्माण पूरा भएको छ । दक्षिण तर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाटको विद्युत् आयोजना चालू वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।
सिञ्चित क्षेत्रको बचावटका लागि उक्त क्षेत्रका कर्णाली, पथरैया, रोरा, चोरी, चरेला र मोहना नदीका आवश्यक ठाउँमा तटबन्धन निर्माणको काम भइरहेको छ । बलचौरको मुक्त कमैया बस्ती हुँदै आयोजनाको मूलनहर निर्माण गर्न रेखाङ्कन गरिएपछि शुरुको अवस्थामा नहर निर्माण अघि बढाउन केही समस्या उत्पन्न भएको थियो ।
उक्त क्षेत्रमा बसोबास गराइएका मुक्त कमैयालाई भने जग्गाको सोधभर्ना दिई अन्यत्र पुनःस्थापित गराई निर्माण अघि बढाइएको थियो । आयोजनाको मूलनहरको रेखाङ्कनमा परेको मुक्त कमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण आयोजना निर्माणकार्य ढिलो गरी शुरु भएको थियो ।
आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको झण्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
डिभिजनल इञ्जिनीयर लसिवाले सिँचाइ हुने क्षेत्र थप विस्तार गर्नुपर्ने अवस्थामा आयोजनाको निर्माण पूरा हुने अवधि पनि थपिनसक्ने बताउनुभयो । अयोजनाको निर्माणलागत नेपाल सरकार, विश्व बैंकको ऋण र उपभोक्ताको श्रमदानसमेत कूल रु २७ अर्ब ७० करोड २४ लाख रहेको छ ।
आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि विकाससम्बन्धी गतिविधि पनि भइरहेको छ । विश्व बैंकतर्फको आयोजनाको पहिलो चरणको काम सन् २०१२ बाट शुरु भई सन् २०१७ सम्म भएकोमा दोस्रो चरणको काम सन् २०१८ बाट शुरु भई २०२३ मा सकिने जनाइएको छ ।
विश्व बैंकले आयोजना निर्माणका लागि पहिलो चरणका लागि अनुदान दिएकोमा दोस्रो चरणको काममा ऋण मात्र दिएको डिभिजनल इञ्जिनीयर लसिवाले बताउनुभयो । शुरुको अवस्थामा यो आयोजना आर्थिक वर्ष २०७३÷७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।