काठमाडौं । मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने भएको छ । सीमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जीर्ण अवस्थामा रहेको मिरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पूरा हुन कम्तीमा तीनदेखि चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी गराएको छ । निर्माणपश्चात् पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था कायमै रहेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा मंगलबार संयुक्त पक्रकार सम्मेलन गरी पुलमार्फत मालवाहक सवारी साधनहरूको आवत जावत पूर्णरूपले ठप्प हुँदा व्यवसाय ठप्प हुने जानकारी गराएको हो । भारततर्फ करिब पाँच हजार सवारी साधनहरू अलपत्र पर्ने स्थिति छ भने हाल दुई हजारभन्दा बढी मालवाहक सवारी साधनहरू लामबद्ध भई सकेका छन् । जसको डिटेन्सन र डेमुरेज चार्ज मात्रै प्रति दिन एक करोड रूपैयाँ र साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अर्बौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । साथै दैनिक उपभोग्य वस्तुहरूको अभाव हुने प्रबल सम्भावना देखिएको उनको भनाइ छ ।
उक्त समस्या समाधानको लागि विगतमा झैँ सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरू रि–रुट गरेर ल्याउने व्यवस्था गर्न सरकारसँग उनले माग गरे । साथै, दीर्घकालीन समाधानका लागि आईसीपी जोगबनी जोड्ने आरसीसी पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिइनुपर्ने उनको माग छ ।
नेपालको दोस्रो ठूलो नाका र मोरङ–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रूपमा रहेको यो पुल, दुई वर्षअघि यही अवस्था सिर्जना हुँदा आठ महिनासम्म सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी पूर्वाञ्चलका उद्योगी व्यवसायीहरूले जेनतेन उद्योग व्यावसायलाई जोगाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । यस समस्याको दीर्घकालीन समाधानका लागि पटक पटक विभिन्न निकायहरूमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम नचालिएको मुन्दडाको भनाइ छ ।
नेपाल सरकारको कूटनीतिक पहलकालागि परराष्ट्र मन्त्रालय, भारतीय राजदुतावास–काठमाण्डौँ, नेपाली राजदुतावास दिल्ली, भारतका हाई वे डिभिजनहरू लगायत विभिन्न मन्त्रालयहरूमा पहल गर्दा पनि कुनै ठोस काम नभएको उनले बताए । त्यतै, मिरगञ्ज पुलको छेउमा बन्दै गरेको आरसीसी पुलको निर्माण कार्य सन २००८ मा सुरु भएपनि हालसम्ममा चारवटा पिलर मात्र अर्धरूपमा मात्र निर्माण भएको उनले बताए ।