ललितपुर, दक्षिण ललितपुरका तीन गाउँपालिकाको केन्द्रका रुपमा रहेको गोदाबरी नगरपालिका–१० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको अभाव रहँदा यसले प्रभावकारी सेवा दिनसकेको छैन् ।
अस्पतालका लागि नगरपालिकाले पर्याप्त बजेट छुट्ट्याउन नसक्दा अस्पतालमा विभिन्न किसिमका समस्या देखिएका छन् । पहिले दातृ निकायको सहयोगमा सञ्चालित हुँदाभन्दा अहिले स्थानीय सरकारको मातहतमा आउँदा बिरामीको चाप घटिरहेको पाइन्छ । अस्पतालमा नगरपालिकासँगै तीन गाउँपालिका र मकवानपुर जिल्लाकासमेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा कतिपय प्रविधि पूराना भएका र आधुनिक प्रविधि जडान गर्न नसक्दा बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले दैनिक २४आँै घण्टे सेवा दिँदै आए पनि प्रयोगशालामा काम गर्ने जनशक्तिको अभाव रहँदा जम्मा १२ घण्टे सेवा सुविधा दिन बाध्य भएको सो अस्पतालका व्यवस्थापक मधुराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विगत लामो समयदेखि बज्रबाराही सामुदायिक अस्पतालमा रहेको सो अस्पताल गत असोज १ गतेबाट बज्रबाराही चापागाउँ अस्पतालका नाममा नामाकरण भएपछि अहिले सम्पूर्ण जिम्मेवारी नगरपालिकालाई परेको छ ।
यस अघिको नगरपरिषद्मा निर्णय भएअनुसार नगरपालिकाले रु २० लाख अस्पताललाई दिएको थियो । सो रकम भने औषधि खरीद बाहेकको खर्चका लागि नगरपालिकाले दिएको हो । हाल अस्पतालमा रहेका औषधि केवल तीनदेखि चार महिना मात्र पुग्छ । अस्पतालमा पुरानो र सामान्य किसिमको अल्ट्रा साउण्ड गर्ने प्रविधि रहँदा नयाँ डिजिटल प्रविधिको उपकरण आवश्यकता परेको केसीले जानकारी दिनुभयो ।
सो अस्पतालमा बच्चा जन्माउने सुविधाको व्यवस्था रहँदा धेरै महिला सुत्केरी हुन आउने गरेका छन् । उनीहरुलाई अस्पतालमा उपचारका लागि एक दुई दिन राख्नुपर्ने हुँदा अस्पतालले चमेना गृहको अभावमा खानाको सुविधा दिन नसकेको अस्पतालका निमित सुपरटेण्डेन्ट डा किसन नेपालीले बताउनुभयो ।
“अस्पतालमा बिबाहित र अबिबाहित दुवै किसिममा महिला गर्भपतन गर्न आउने गरेका छन्, अस्पताल सामुदायिक छँदा नियुक्त भएका कर्मचारीलाई तलब खुवाउन निकै ग्राहो भएको छ”, नेपालीले भन्नुभयो, “नगरपालिकाले औषधि खरीदका लागि मात्रै अर्काे रु १० लाख दिएको थियो, यति रकमले खरीद गरेको औषधि वर्ष दिनभरि कसरी पु¥याउने भन्ने समस्यामा हामी परिरहेका छाँै ।”
अस्पताल केवल १५ श्ययाको रहेको छ । नगरपालिकाभित्र १८ स्वास्थ्य संस्था रहेका छन् । सोमा १६ सामुदायिक र दुई आयुर्वेदिक स्वास्थ्य संस्था छन् । अस्पतालको स्वास्थ्य शाखाका लागि तालीम हलको अभावका साथै अस्पतालको कोठमा तार जडान र सजाउने काम बाँकी भएको भए तापनि दैनिक ४० देखि ५० बिरामी सेवा लिन आउने गरेका बताइएको छ । (रासस)