काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धीे सम्झौता संसदबाट पास हुने जनाएको छ । आज बसेको कांग्रेसको संसदीय दलको बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने गरी अगाडि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
कांग्रेसकै पालामा एमसीसी सन्धि भएको वताउँदै कांग्रेसकी सचेतक पुष्पा भुषालले त्यसलाई सदनबाट पारित गराउन सरकारलाई आग्रह गर्ने निर्णय भएको बताएकी छिन् ।
त्यस्तै, कांग्रेसको संसदीय दलको बैठकमा नेपाल भारत सीमा समस्या र समाधानमा सरकारले खेलेको भूमीका, सरकारले संसदमा दर्ता गरेका विभिन्न विधेयकहरुका सन्दर्भमा छलफल भएको सचेतक भुसालले जानकारी दिइन् । त्यस्तै वैठकमा भोलिदेखि शुरु हुने संसद अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
एमसीसी कार्यान्वयनका लागि अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० अर्ब नेपाली रुपैयाँ) दिने सम्झौता गरिसकेको छ । गत असोजमा उक्त कार्यक्रम कार्यान्वयनका लागि हस्ताक्षर भएको थियो ।
सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका थिए ।
यो कार्यक्रम नेपालले सन् २०२० को जुन ३० बाट कार्यान्वयन गर्नैपर्नेछ । मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत नेपालमा भरपर्दो विद्युतको उपलब्धता र सडक सुधार लगायतका काम हुनेछन् ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले एमसीसी सम्बन्धीे सम्झौता संसदबाट पास हुने दावी गरेका थिए । उनले भने “यो डेमोक्रेसी, सुशासन, पारदर्शीता र मानवअधिकार भएका देशहरूमा अमेरिकाले दिने एउटा सहयोग हो । यो पास हुन्छ ।”
एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भएको दाबी गर्दै नेकपाहरूले त्यो सम्झौता संसदबाट अनुमोदन गर्न नहुनेमा जोड दिइरहेका बेला सरकारका प्रवक्ताले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै एमसीसी आएको बेला इन्डो–प्यासिफिक भन्ने शब्दावली नै नभएको तर्क गरेका छन् ।