काठमाडौ । १३ आंै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही नौ लाख दिने घोषणा गरेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गर्नु भएको हो ।
त्यस्तै रजत पदक विजेता खेलाडीलाई ६/६ लाख र कास्य पदक विजेतालाई ३/३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने पनि जानकारी दिनु भएको छ ।
त्यस्तै टीम इभेन्टमा स्वर्ण पदक जित्ने प्रतिखेलाडी ५ लाख र प्रशिक्षकलाई पनि पाँच लाख रूपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ ।
खेलाडीलाई सम्मान गदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो जस्तो गरीब देशमा सरकारले खेलाडीलाई उचित सम्मान गरेको छ ।’
कुनै बेला ५१ खेलाडी सहभागिता जनाउने हैसियत नभएको देशले आज ५१ स्वर्ण पदक जितेकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘हामी सातै प्रदेशमा नयाँ रंगशाला बनाउने छौं ।’
खेलाडीलाई प्रोत्साहन दिन आफु उपस्थित हुन चाहेर पनि स्वास्थ्यका कारण उपस्थित हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले अस्पतालबाटै सबै खेल हेरेको बताउनुभयो ।
आफूलाई पनि खेल्न मन पर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म पनि राम्रो स्विमर हुँ । हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो । म खोलासँग परिचित भैसकेका थिएँ । बगाउँदा बगाउँदै पनि बाँचेको छु ।’
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदक विजेतालाई तीन लाख र कांस्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ । सागमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ ।