रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १५ यात्रुको निधन भएको, एक बेपत्ता र तीन गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपिल गरेका छन् ।
दिनप्रतिदिन बढिरहेका सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारीसाधनको अवस्थालगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।’
मुख्यमन्त्री पोखरेलले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताएका छन् । उनले प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको जनाउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदूरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक रहेको उल्लेख गरेका छन् ।
यसैवीच बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको आज मृत अवस्थामा शव फेला परेको छ ।
कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको बताइएको छ । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्षीय २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका चार वर्षीय छोरा हिमाल कार्की र सोही ठाउँ बस्ने २४ वर्षीया निमा केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते तिनै जनालाई ढोरपाटनस्थित बूर्तिवाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको आज हुने भनिएको कूलपूजाका लागि जाँदै थिए ।