काठमाडौं । १३ औं साग खेलकुदमा नेपालले ६ वटा स्वर्ण पदक जितिसकेको छ । कराँतेबाट ३, तेक्वान्दोबाट दुई र ट्राइथ्लोनमा एक स्वर्ण जितेको हो ।
नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए । यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जितेका छन् ।
यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन् । उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन् ।
यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन् । सागका खेलहरु जारी छन् । खेल काठमाडौं, जनकपुर र पोखरा जारी छ । मंसिर २४ गतेसम्म चल्ने खेलबाट नेपालले ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ । १२ औं सागमा नेपालले मात्र ३ स्वर्ण जितेको थियो ।