काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारी, खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवाललगायत नेता, खेलाडी, वुद्धिजीवी तथा पत्रकार तथा दर्शकहरुको भव्य सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय परम्परा अनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, सपथ ग्रहण गर्ने, मार्च पास गर्ने, स्वागत मन्तव्य राख्ने तथा सम्बोधनको कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाली मौलिक कला संस्कृतिको प्रदर्शनी पनि गरिएको छ । उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाट समेत विशेष प्रस्तुती भएको छ ।
कार्यक्रममा ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउने कार्यक्रम पनि छ । मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गायिएको छ ।
काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुँदैछ ।
सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोमा २९, भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ। यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै साइक्लिङमा ८, ब्याडमिन्टन, टेबल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५ वटा स्वर्ण, स्क्वास र गल्फमा ४, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, कबड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
राखेपका अनुसार खेल अवधिभर सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी हुनेछन् ।