जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा आज बिहान पूजापाठ गर्नु भएको छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएउनु भएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल पनि समेत जनकपुरधाम आएका छन् । राष्ट्रपति भण्डारीसँगै मन्त्रीहरुले पनि जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।
भारतबाट आधुनिक गाडी, हात्ती, घोडालगायत सवारी प्रयोग गरी भारतीय जन्ती बिहीबार नै जनकपुरधाम आइपुगेका छन् । जन्ती जनकपुरधाममा प्रवेश गरेसंगै नेपाली कांग्रेसका उप–सभापति बिमलेन्द्र निधिसहित धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ राम रोसन दास वैष्ढाव लगायत साधुसन्तले भव्य स्वागत गरेका थिए ।
धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । जानकी मन्दिरमा धुमधामसँग मनाइने सीताराम विवाह पञ्चमी महोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत मंगलबारबाट विधिवत रुपमा सुरु भएको हो । त्रेता युगमा जनकपुरमा राम र सीताबीच विवाह भएको स्मरणमा केही वर्षदेखि सप्ताहव्यापी रुपमा धुमधामसँग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।
महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ ‘रंगभूमि’, १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ ।