काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव रमेश सिलवालले आज साँझसम्म सागको सबै तयारी सकिने र शुक्रबा ग्राण्ड रिहर्सल गर्ने बताएका छन् ।
सागका लागि निर्माण गरिएको हिटिङ सिस्टमको स्विमिङ पुलमा शुक्रबार पानी हालिने उनले बताएका छन् । यस्तै पोखरा रंगशालाको काम पनि लगभग सकिएको बताउँदै सदस्य सचिव सिलवालले त्यहाँ १३ हजार सिटको प्यारापिट तयार भएको बताए । नेपालको महिला फुटबल टोलीले पोखरा रंगशालमा प्रशिक्षण पनि सुरु गरिसकेको पनि सदस्यसचिव सिलवालले बताएका छन् ।
यसैबीच साग खेलकुद प्रतियोगिता मध्यनजर गर्दै काठमाडौैं, पोखरा र जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइने भएको बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना साग खेलकुदमा परीचालन हुने भएका छन् । खेलकुद हुने जिल्लाहरु काठमाडौंमा १६ हजार, पोखरा र जनकपुर गरी १८ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले कुकुरसहित विशेष सुरक्षा टोलीहरु पनि खट्ने जनाएका छन् ।