काठमाडौं । यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराना गाडी नचलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध जारी गर्दै महाशाखाले चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकभर प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्ने, मंसिर १४ गते उद्घाटन र मंसिर २४ गते समापनको दिन अतिआवश्यक भएमा मात्र सवारी साधन चलाउन अनुरोध गरेको छ ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखाले १५ गते विजोर र २४ गते जोर नम्बरप्लेटका सवारी साधनमात्र चलाउन पनि अनुरोध गरेको छ ।
त्यस्तै महाशाखाले पुराना र विग्रन लागेका सवारी साधन नचलाउन अनुरोध गरेको छ भने खेल हेर्न आउनेहरुका लागि टुँडिखेलमा गाडी पार्किङ गर्न र हर्न लगाउन पूर्ण रुपमा निषेध गरेको छ ।