काठमाडौँ । बङ्गलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियनसिपको उपाधि हासिल गरेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपालमा आयोजना हुने १३ औँै दक्षिण एशियाली खेलकूद (सागमा सहभागीलाई शुभकामना प्रदान गर्न आज आयोजित कार्यक्रममा भलिबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको भन्दै सरकारले सम्मान गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मानस्वरुप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही रु तीन लाख नगद सहित सम्मान गरेका हुन् ।
एसिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही रु तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रुपमा समेत लिएको बताए । उनले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।
उनले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइहेको बताए । १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताए ।
यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई रु तीन लाख, रजत विजेतालाई रु दुई लाख तथा कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरेको थियो । त्यसैगरी युवा तथा खेलकूदमन्त्री सुनारले १३ औँ सागमा खेलाडीले उच्च मनोबलको साथ खेल मैदानमा उत्रन आग्रह गर्नुभयो । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।