पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ को प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेकी विद्या भट्टराईले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताएकी छिन् ।
चुनावी प्रचारप्रसारको क्रममा पोखराका मतदाताबीच उम्मेदवार भट्टराईले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने पनि बताएकी छिन् । आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको दोहोर्याउँदै विद्याले पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यसूची रहेको समेत बताएकी छिन् । पोखरा–७ मा विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्छन् ।
पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै चुनावी प्रचार कार्यक्रम पोखरा–७ मा बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुनेलगायत क्षेत्रमा सम्पन्न भएको हो । घरघरबाट निस्केर मतदाताले फूलको गुच्छाले उम्मेदवार भट्टराईको स्वागत गरेका थिए ।
सो क्षेत्रमा उम्मेदवार भट्टराई पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुलीले वडा नं. ७ र १५ जोड्ने पक्की पुल अधिकारीले शिलान्यास गरेको सम्झिँदै विकासमा जोड दिन आग्रह गरेकी छिन् ।
महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेकी अधिकारीकी पत्नी विद्याले
चुनाव प्रचारका क्रममा केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताइन् ।
पूर्वमन्त्री एवं नेकपा गण्डकी सहइञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताए ।