भद्रपुर । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरीको व्यवसायिक खेती शुरु भएको छ । गत वर्ष चार कठ्ठा जमीनमा शुरु गरिएको खेतीको परीक्षण सफल भएपछि हाल ३० बिघा जमीनमा लगाइएको काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताएका छन् ।
भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर खेती गरिएको बताइएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको झापामा परीक्षण सफल भएपछि ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको तिम्सिनाले बताएका छन् । उनले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताताएका छन् । कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्म तीन लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उनले बताएका छन् ।
मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने पनि उनले बताएका छन् । उनका अनुसार बजारमा यसको मूल्य प्रतिकिलोग्रामको रु ८०० देखि एक हजारसम्म छ । उत्पादन शुरु भएपछि ६०० मूल्य निर्धारण गरेर बिक्री गर्ने उनले बताएका छन् ।
१० करोड रुपैयाँभन्दा बढीको लगानीमा शुरु गरिएको खेतीमा हाल १००भन्दा बढीले रोजगारी पाएको बताइएको छ । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताएका छन् ।
उक्त कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसवर्ष १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाएको बताइएको छ । पाठकका अनुसार कम्पनीले झापाको बाह्दशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा प्राङ्गारिक फलफूल र तरकारी खेती पनि शुरु गरेको छ ।