काठमाडौँ, बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चन्द्रगिरी भ्रमणमा जाने कार्यक्रम रहे पनि अन्तिममा रद्द भएको छ । राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि अन्तिम समयमा विशेष कारणले रद्द भएको भ्रमण दलका सदस्यहरुले बताएका छन् ।
राष्ट्रपति हमिद त्यहाँको भ्रमणमा नगएपनि उनको भ्रमण दलका सदस्यहरु भने चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहेका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गरेको बताइएको छ ।
उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।
भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा भ्रमण टोलीलाई जानकारी गराएका थिए ।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।