झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन झापाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने पनि बताएका छन् ।
विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काङ्ग्रेस तयार रहेको वताउँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका छन् ।
छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको वताउँदै नेताले पौडेलले दुईतिहाईको बलियो सरकार रहेकाले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने बताए ।
जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पौडेललगायत नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आएका छन् ।