काठमाडौं । जुत्ताचप्पल उत्पादक तीन उद्योगको संयुक्त आयोजनामा बिहीबारदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु भएको छ । मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहेका छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अवसर हुने शिखर सुजका अध्यक्ष प्रबन्धनिर्देशक रामकृष्ण प्रसाईंले बताएका छन् ।
मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध रहेको प्रसाईले बताएका छन् । मेला सीमित अवधिका लागि लगाइने आयोजकको भनाइ छ । जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाई लक्षित थरि थरिका पार्टीसुजसमेत उपलब्ध रहेको उनले जानकारी दिए । जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिएका छन् । ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध रहेको उनले बताए ।
मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।
मेलाको उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाश ढुंगेलले बिहीबार गरेका थिए । मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता नै हुनुपर्ने समेत बताएका थिए ।