काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेडी’ कार्यक्रम सुरु गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्न शुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ उपलब्धिबारे सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताएका छन् ।
पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो ।
वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने जनाएको छ ।