काठमाडौं । भारतले नेपाली भूभागलाई आफ्नो मानचित्रमा समावेश गरेपछि नेपालमा भारतको चर्को विरोध भएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गरेका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गरेको छ ।
नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेपछि नेपालभर भारतको विरोध शुरु भएको हो । सरकारले कालापानी क्षेत्र आफ्नो भूभाग भएको र भारतको हेपाह प्रवृत्तिविरुद्ध कूटनीतिक पहल गर्ने बताएको छ भने सत्तारुढ दलका विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि आज पनि विरोध प्रदर्शन गरेका छन् ।
नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । आजै नेपाली कांग्रेस सम्वद्ध नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए ।
विद्यार्थीहरु ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ ‘गो व्याक इन्डिया’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि विरानगर, भैरहवा, वीरगञ्जलगायत नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेको छ । लैनचौरस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।