पर्सा । ‘तराई पहाड हिमालको उत्सव’ नारा सहित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजबाट वीरगन्जमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।
चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत बुद्धिजीवी, कलाकारका साथै बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको छ ।
वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सवको उद्घाटन अघि घण्टाघर चोकदेखि महोत्सव स्थलसम्म प्रभातफेरी समेत गरिएको थियो ।
महोत्सवमा नीर शाह, भुवन केसी, झरना थापा, दीपकराज गिरी, दिपाश्री निरौला निरुता सिंह, वर्षा शिवाकोटी, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापालगायतका पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु को उपस्थिति रहेको थियो ।
कात्तिक २१, २२ र २३ गतेसम्म चल्ने महोत्सव चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि आयोजना गरिएको निर्माता संघले जनाएको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले महोत्सवमा कलाकर्मीहरुको उपस्थिति उत्साहजनक रहेको बताएका छन् । स्थानीयवासीको पनि भरपूर सहयोग रहेकाले कार्यक्रम सफल हुनेमा आफूहरु ढुक्क रहेको अधिकारीले बताएका छन् ।