पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि आज सबै रिक्त स्थानमा उम्मेदवारी दर्ता भएको छ । बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो ।
कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसबाट खेमराज पौडेल, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी र विवेकशील दलबाट जमुना शर्मालगायतले उम्मेदवार दर्ता गरेका छन् ।
मनोनयन दर्ता अगाडी विद्याको पक्षमा सर्वसाधारणले बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेका थिए । नेकपाले तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा विद्याका पतिको जन्मघरबाट चुनावी अभियान शुरु गरेको छ ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेका छन् ।