काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगले ६० आँै वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गरेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको हो । आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए÷गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण समेटिएको बताइएको छ ।
यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको थियो । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको पनि उल्लेख छ ।