रौंतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ ।
१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई दर्जन भन्दा बढी व्यक्तिलाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा असोज २६ गते पक्राउ परेका सांसद आलम विरुद्ध आज मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । प्रतिवदनको अध्ययन पश्चात जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेतले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै उनीहरुविरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पूजी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।
पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो ।
सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।
त्यस्तै घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदावी गरिएको छ ।
मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई जिउँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ । यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।