काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पुँजी बजारमा लगानी गर्नका लागि सबैभन्दा उपयुक्त समय रहेको बताउनु भएको छ ।

आज कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खतिवडाले अहिले नयाँ लगानीकर्तालाई पुँजी बजारमा छिर्ने उपयुक्त मौका रहेको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो  ‘मुलुकको अर्थतन्त्र सकारात्मक छ । लगानी वातावरण बन्दै गएको छ । आर्थिक वृद्धिदर राम्रो छ । राजनीतिक स्थायित्व कायम भएको छ । यसबेला लगानीकर्ताले आत्तिनुपर्दैन, ‘दोस्रो बजारमा प्रवेश गर्ने अहिले सुवर्ण अवसर हो । बैंकिङ्ग तथा वित्तीय संस्थाहरूको नाफा बढेको छ । राजनीतिक स्थायित्व कायम भएर सुशासनको अवस्था सुधारिँदै छ ।’

मन्त्री खतिवडाले कर्मचारी सञ्चयक कोष, नागरिक लगानी कोष लगायतका संस्थालाई उचित नीतिनियम अनुसार सेयर बजारमा लगानी गर्न अनुरोध गर्दै उनले यतिवेला लगानीका लागि ठिक समय रहेको बताएका छन ।