दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो ।
नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको छ भन्नुभयो ।
“पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।”
नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताउनुभयो । सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । रासस