बुटवल, प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमीश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा विरोध एवं भत्र्सना गरेका छन् ।
सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । बम प्रहारबाट सचेतक ढाकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।
नेकपा रुपन्देहीले सो घटनाको घोर निन्दा एवं भत्र्सना गरेको पार्टी जिल्ला सचिव निर्मलकुमार जिसीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस खालका घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारसँग माग गरिएको छ ।
जननिर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुलाई धम्क्याउने, आक्रमण गरी विचलित पार्ने प्रयासस्वरुप गरिएका यस प्रकारका आक्रमणका विरुद्ध संयमता अपनाउन तथा राजनीतिक रुपमा विरोध र सामना गर्न समेत सबैलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नेपाली काङ्ग्रेस प्रदेश नं ५ संसदीय दलले समेत सो घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा यस खालका घटनामा संलग्न ब्यक्तिलाई पहिचान गरी कानूनी कारवाहीको माग गरिएको छ । साथै शान्ति सुरक्षा र अमनचयनको वातावरण कायम राख्न समेत विज्ञप्तिमा सरकारसँग माग गरिएको छ । रासस