काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ ।
सिल्क एयरको उडानबाट राति ९ः५० बजे प्रधानमन्त्री सिंगापुर जानुभएको हो । स्वास्थ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहने कार्यक्रम तय भएको छ। गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइ बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि प्रधानमन्त्री सिंगापुर जानुभएको हो ।
प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको छ ।
उहाँलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुहुने छ ।

























