खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिद्धान्त, इतिहास र परिस्थितिको गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । विनाअध्ययन र समय परिस्थितिलाई नबुझी अगाडि बढ्दा काममा प्रभावकारिता नहुने स्पष्ट पार्नुहुँदै पूर्वप्रधानमन्त्री खनालले पार्टीको सिद्धान्त, इतिहास र देशको वर्तमान परिस्थितिको गहन अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
खोटाङको दिक्तेलमा आज आयोजित नगर समितिको शपथ ग्रहण कार्यक्रममा नेता खनालले मुलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा रहेको बताउनुभयो । “हामीले देशमा ठूलो उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आमूल परिवर्तन गर्ने काममा लागू गर्नुपर्ने हुन्छ । यसका निम्ति पार्टीको सिद्धान्त, इतिहास र वर्तमान परिस्थितिको गहन अध्ययन गर्नुपर्छ ।” उहाँले हरेक तहमा गठन भएको पार्टी समितिले सरकारलाई मार्गनिर्देश गर्न सक्नुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता खनालले पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुगेकाले सबै काम चाँडै सम्पन्न हुनेमा विश्वस्त पार्नुभयो । “अहिले निर्माण भएका समिति भद्दा बनेको छ । यसमा मेरो टिप्पणी छ”, उहाँले भन्नुभयो, “भद्दा समितिले पार्टी विध्वंस हुन्छ । राष्ट्रिय महाधिवेशनपश्चात् साइजमा आउने छौँ ।”
नेता खनालले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा किरात ऐतिहासिकस्थल मझुवागढी तथा कालिका भगवती मन्दिरको अवलोकन भ्रमण गर्नुभएका पूर्वप्रधानमन्त्री खनालले आजै अपराह्न नेकपाको हलेसी नगर समितिलाई समेत शपथ ग्रहण गराउनुभएको हो ।