काठमाडौ, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह को प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएको छ ।
आइतवार राति सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमण गर्न गएका विप्लवका कार्यकर्ता चौकीमा प्रहरी नभएपछि त्यतिकै फर्किएका थिए ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकीमा प्रहरी नै नभएपछि आक्रमण नगरि फर्किएका थिए ।
‘राति विप्लव समूहले चौकीमा आक्रमण गर्दैछ भन्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो’ स्रोतले भन्यो,‘चौकी रित्तै फेला परेपछि विप्लवका कार्यकर्ता यसै फर्किए ।’ चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको जानकारी दिए । बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।