काठमाडौँ , प्रधानमन्त्री केपीशर्मा ओली राजनीतिक शास्त्रको मानार्थ पिएचडीबाट सम्मानित हुनुभएको छ । दक्षिण कोरियाको काङ्गनाम बिश्वविद्यालयले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको विद्ययावारिधीको उपाधीले सम्मान गरेको हो ।उपाधी ग्रहण पछि बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको छु । यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।’
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै ‘कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो । नेपाल केही समयपछि पर्यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ । आज हामी कोरियाले प्राप्त गरेको सफलता हासिल गर्ने त्यही अभियानबाट अघि बढिरहेका छौ ।’कार्यक्रममा प्रधानमन्त्री ओलीले अब पछाडी फर्कन नसकिने भन्दै ज्ञान र प्रविधि सवैतिरबाट लिएर अगाडी बढनुपर्ने बताउनुभयो । कोरियाको शिक्षा प्रणालीबाट नेपालले पनि सिक्न आवश्यक भएको बताउदै उहाँले भन्नुभयो,–‘कोरियाको शिक्षा कति व्यवहारिक र उपयोगी छ भन्ने कुरा त्यहाँको जनताले देखाएका छन ।’
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री ओलीले गर्नुभएको संघर्ष र उहाँको जीवनको सम्पुर्ण समय नेपाली जनताको विकासमा सर्पित गर्नुभएको भन्दै प्रधानमन्त्री ओलीलाई डा.को उपाधीले सम्मान गरिएको काङ्गनाम विश्वविद्यालयका कुलपति डा. शिनिल युनले बताउनुभयो ।१४ बर्षको जेल जीवनको भोगाई र राजनीतिक संघर्षले नेपालमा गणतन्त्र स्थापित भएको भन्दै प्रधानमन्त्री ओलीलाई डाक्टर गरेको प्रमाणपत्र सहित टोपी र गाउन पहिराएर सम्मान गरिएको छ । कार्यक्रममा गृहमन्त्री रामवहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कानुन मन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री बर्षमान पुन लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागीता थियो ।