नेपाली सेनाले बृटिस सेनालाई पराजित गरी बिजय प्राप्त गरेको खुशियालीमा आज बुटवलमा जीतगढी उत्सव मनाईएको छ ।
वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।
उत्सवका अवसरमा शनिबार बिहान बुटवलमा झाकि सहितको बृहत्त र्याली निकालिएको छ । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको रयाली उपमहानगरका बिभिन्न स्थानको परिक्रमा पश्चात जीतगढीमा पुगेर अहिले बिशेष समारोहमा परिणत भएको छ ।
बिशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पुर्ण कदको शालीकको अनावरण र बिशाल राष्टिय झण्डाको झण्डोलोत्तन गर्नु भएको छ ।जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।’उनले अघि भने, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’
उनले राप्रपा र विप्लव समूहमाथि पनि निशाना साँधे । राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताए ।
‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’
मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।
बिशेष समारोहमा प्रधानमन्त्री ओली सहित उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा महासचिव बिष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको छ