भजनी, कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समुदायस्तरमा प्रभावकारी बन्दै गएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको केही वडामा सञ्चालन भइरहेको सो परियोजनाको तेलहनबाली एकाइ जोनबाट किसानले लाभ लिइरहेका छन् । तेलहनबाली जोनअन्तर्गत तोरी र सूर्यमुखीको तेलहन खेतीमा परियोजनाले सहयोग गरिरहेको छ ।
परियोजना शाखा प्रमुख टीकेन्द्र कुस्मीले एक हजार २५ हेक्टरमा किसानले तोरीको खेती गरेको बताउँदै सूर्यमुखीको खेती दुई हेक्टरमा भएको बताउनुभएको छ । “किसानलाई बीउ, मलखाद, विषादी, भिटामिन र प्राविधिक उपचारसम्मको सुविधा दिने गरेका छौँ”, शाखा प्रमुख कुस्मीले भन्नुभयो, “हामी कृषि समूहमा काम गर्दछौँ, हालसम्म १३६ कृषक समूहमार्फत काम गरिरहेका छौँ ।”
घोडाघोडी नगरपालिकाको नौवटै वडा, भजनी नगरपालिकाको वडा नं २, ६, ८, जानकी गाउँपालिकाको वडा नं ४ र ७, जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४ र ६ मा परियोजनाअन्तर्गत तेलहनबाली जोन कार्यक्रम सञ्चालन भएको छ । जसमा किसानले समूहमार्फत काम गरिरहेका छन् भने १० वटा कृषक सहकारी संस्थासमेत परियोजनासँग जोडिएर काम गरिरहेका छन् ।
प्रतिफलमा आधारित कार्यक्रम सञ्चालन भइरहेको बताउँदै परियोजनाका शाखा प्रमुख कुस्मीले किसानलाई आधुनिक र वर्णशङ्कर जातको तेलहनको बीजवृद्धि पनि मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
धेरैजसो कृषक समूहमा महिला सक्रिय भएका कारण कृषि पेशामा महिलाको आकर्षण बढेको छ । मलबारा तेलहनबाली जोन कृषक समूहका सचीव वीरबहदुर कठरियाले परियोजनाले परम्परागत खेतीबाट किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउने काम गरेको बताउनुभयो । सचीव कठरियाले भन्नुभयो, “पहिले एक कट्ठामा मुस्किलले २०/२५ केजी उत्पादन हुन्थ्यो भने अहिल्ले ४०/५० केजीसम्म उत्पादन गर्न सफल भएका छाँै ।”
आव २०७२/०७३ बाट शुरु भएको सो परियोजना सञ्चालन भइरहेका नगरपालिका तथा गाउँपालिकाको अन्य वडामा पनि सञ्चालन गर्न किसानले माग गरिरहेका छन् । परियोजनाको कार्यालय घोडाघोडी नगरपालिकामा भएका कारण अन्य नगरपालिका तथा गाउँपालिकाका कृषक समूहलाई समन्वय गर्न समस्या देखिएको छ । भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका एकआपसमा जोडिएका भए पनि व्यवस्थापनको समस्या देखाउँदै जानकी गाउँपालिकाको वडा नं ४ सविकको मुनुवा गाविसमा रहेको परियोजनाको कार्यालय घोडाघोडी नगरपालिकाको सुखडमा सारिएको छ ।
परियोजना शाखा प्रमुख कुस्मीले साविकको जिल्ला कृषि विकास कार्यालयले पायक पर्ने ठाउँमा भवन उपलब्ध गराएको तर स्थानीय सरकारले कार्यालय भवन स्थानीय सरकारको मातहतमा आइसकेको भन्दै नदिने कुरा गरेपश्चात् कार्यालय सुखड सार्नुपरेको बताउनुभयो । परियोजना सञ्चालन भएको अधिकांश स्थानमा थारू समुदायको बसोबास छ । कृषि क्षेत्रमा पहिलेदेखि नै क्रियाशील थारू समुदायलाई परियोजनाले कृषि क्षेत्रमा प्रेरित गर्न थप ऊर्जा दिएको क्रियाशील कृषकको भनाइ छ ।
–झलनाथ खनाल