प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ ।
नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो ।
उहाँले विकास र संवृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।
मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले निर्माण गर्ने छ भन्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले नौ हजार युवालाई तालीम प्रदान गर्ने बताउँदै नगर क्षेत्रमा ३०० किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।
प्रदेशसभामा नेपाली काङ्ग्रेसका सचेतक केदार कार्कीले नयाँ बस टर्र्मिनलमा शिशुस्तनपान स्थान र सुरक्षाको उचित प्रबन्धसहित सिसीटिभीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
(रासस)