काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको यस अवधिसम्म विकास योजनामा उत्साहजनक खर्च नभएकातर्फ ध्यानाकर्षण गराउँदै अन्तरप्रदेश परिषद्को निर्णयलाई कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । उहाँले सार्वजनिक खरीद ऐन संशोधनका क्रममा रहेको जानकारीसमेत दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक खरीद ऐन संशोधन गर्दै सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आयात निर्यातबीच सन्तुलन कायम गर्न ध्यान दिनुपर्ने बताउनुभयो । वन तथा वातावरणमन्त्री शक्ति बस्नेत प्राकृतिक स्रोत व्यवस्थापनमा विषेश ध्यान दिन आग्रह गर्नुभयो ।
खानेपानीमन्त्री बीना मगरले आधारभूत खानेपानी सेवा उपलब्ध गराउन खानेपानी आयोजना समयमै सम्पन्न गर्न बजेट अभाव भएकातर्फ ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले राष्ट्रिय गौरवका २२ आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका १२ मात्र योजना रहेको जानकारी दिँदै ५० देखि ७९ प्रगति भएका आयोजना चार वटा मात्र रहेको बताउनुभयो । मन्त्रालयगत रुपमा चौमासिक बजेट खर्च सन्तोषजनक रुपमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।रासस