प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन भन्नुभयो ।
उहाँले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रेस स्वतन्त्रताका विषयमा सञ्चारकर्मीहरुले प्रदेश सरकारप्रति शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुले आफ्ना मर्यादालाई बिर्सन नहुने भन्दै मानवअधिकार र प्रेस स्वतन्त्रताको लडाइँमा १४ वर्ष जेल जीवन बिताउनु भएको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि प्रेस स्वतन्त्रतामा अङ्कुश नलाग्ने स्पष्ट पार्नुभयो ।
सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले सञ्चार क्षेत्र जहिले पनि देश विकास र समाजमा परिवर्तन ल्याउन समर्पित रहन आग्रह गर्नुभयो ।