दमक, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाउनुभएको छ ।
उहाँले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताउनुभयो । महामन्त्री कोइरालाले झापाको दमकमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको छ भन्नुभयो ।
उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको छ भन्दै काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुन्छ भन्नुभयो । महामन्त्री कोइरालाले काङ्ग्रेस व्यक्तिवादी गुटगत स्वार्थमा फसेको चर्चा गर्नुहँुदै अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्छ भन्नुभयो । रासस