काठमाडौं, राष्ट्रिय चाड पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको छ । नयाँ नोट साट्न बंैक तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भिड लागेको छ ।
आइतबारदेखि असोज २९ गतेसम्म दसैंंका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंक तथा तोकिएका अन्य बैंकहरुमा जनही २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ । ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
यसअघि केन्द्रीय बैंकले मात्रै वितरण गर्ने नयाँ नोट यस वर्षदेखि वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । वाणिज्य बैंकहरुलाई नोट उपलब्ध गराइसकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बचत था ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिइएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौँ बैङ्किङ कार्यालयहरु न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । त्यसैगरी कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट साट्ने व्यवस्था मिलाइएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर, सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।
उपत्यका बाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । यी बाहेक अन्य बैंकले पनि नोट साट्ने व्यवस्था गरेका छन् ।