दयालबहादुर शाही
मुलुकका दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी) एकता भई नेकपा बनेको छ । एकता हुँदा दुबै पार्टीका अध्यक्ष हाफ, उपाध्यक्ष, सहसचिव, उपमहासचिव र सचिव पत्तासाफ भए पनि महासचिव विष्णुप्रसाद पौडेल भने नेपाल कम्युनिष्ट पार्टीको महासचिव बन्नु भयो । नेकपामा महासचिव चानचुने नेता बनेको नजीर छैन । पौडेलले पाएको यस्तो अवसर विरलै नेताले पाउने गर्छन् । २०४४ सालमा सेक्टर काण्ड घट्दा अन्य नेताहरु गोपनीयता भंग गराएकोमा कार्वाहीमा परेपछि तत्कालिन नेकपा मशालको महासचिव हुने अवसर प्रचण्डलाई प्राप्त भएको थियो । आज त्यस्तो अवसर पौडेलको पोल्टामा परेको छ । महासचिव पदको महत्व, पौडेलको व्यक्तित्व, प्राप्त अवसर र संगीन खाले चुनौती अहिलेको राजनीतिक वृतमा वहश, विश्लेषण, अनुमान र अपेक्षाको विषय बनेको छ ।
महासचिव पौडेलको उदयले मूलतः २०२८ को दशकदेखि नेपाल कम्युनिष्ठ पार्टीमा विभिन्न धारहरुमा प्रभावी रहेका नेकपाका शीर्ष पाँच नेताबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणतिर संकेत गरेको छ । विक्रम संवत् २००१ सालदेखि ०११ सालसम्म जन्म मिति भएका नेताहरुमा जाम भएको नेतृत्व २०१५ देखि २०२५ साल सम्मको उमेर समूहतिर सर्न आवश्यक पनि छ । नेतृत्वको सहज र लोकतान्तिक हस्तान्तरणलाई पौडेलका समर्थक र प्रतिष्पर्धी सबैका लागि अत्यन्तै सुखद र सकारात्मक पक्ष हो । नेतृत्व हस्तान्तरणका विभिन्न प्रकृति हुन्छन् । नेतृत्व हस्तान्तरणका विविध प्रयोगहरु माक्र्सवादी कित्तामा भन्दा सामन्तवाद र पूजीवादी कित्तामा वढि छन् । सुरुमा कम्युनिष्टहरु एकांकी प्रकृतिका परेकाले अधिनायकवादी अभ्यासवाहेक अरु विकल्पबारे सोच्नै सक्दैन थियो । नेपालमा भने कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले जनताको वहुदलीय जनवाद र एक्काइसौं शताब्धिको जनवाद जस्ता खुला र खुकुला प्रकृतिका चिन्तन प्रणालीको विकास गरे । मानव जातिले हासिल गरेका महानतम् उपलब्धिलाई पूजीवादीहरुको मात्र पेवा ठान्ने माक्र्सवादी जडता तोडिदै गए । अब माक्र्सवाद मात्र होइन आर्य मर्यादा र पंचशीलको सिद्धान्त पनि हाम्रा सन्दर्भ सामाग्री बन्ने गरेका छन् । नेतृत्वको हस्तान्तरण समन्न्धी ‘सामुहिक सन्यास’को प्रणाली महाभारत कालमा प्रचलित थियो । धृतराष्ट्र, विदुर, गान्धारी र कुन्तीको सामुहिक वनबास, नाति परीक्ष्तिलाई राजपाठ सुम्पिएर पाँचै भाइ पाण्डवहरुको हिमालयतर्फको सामुहिक महाप्रस्थान यसका उदाहरण थिए । चिनियाँ कम्युनिष्ट पार्टीले पनि त्यसप्रकारको अभ्यास गर्दै आएको छ । यस्तो अभ्यास भारतमा कांग्रेस आई र नेपालमा नेपाली कांगे्रसले अवलम्वन गर्न सक्थे तर यसो नगर्दा दुबै पार्टीलाई महंगो प¥यो । भाजपाले भने अटलविहारी वाजपेयी, लालकृण आड्वाणी लगायतका एक दर्जन पाका नेताहरुको भिडलाई छेल्दै २०–३० वर्ष पछिको उमेर समूहवाट नरेन्द्र मोदीलाई सन् २०१४ को संसदीय चुनावमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर छलाङ्ग मार्न सक्यो । नेकपा महासचिव पौडेलको आगमन ठ्याक्कै त्यस्तै नहोला तर आगामी दशकमा लगातार नेतृत्वमा रहेका नेताहरुको एउता सिङ्गो प्रस्तावको नै सामुहिक सन्यास माथिको वहश र संभावनाले ढोका खोलिदिएको छ ।
महासचिव पौडेल महासचिव वन्नुमा सुगम र सहज कारण पनि छन् जटिल र विशिष्ट कारणहरु पनि छन् । पार्टी एकीकरणको सहजकर्ता र पहलकर्ताको भूमिका सहज तर विशिष्ट कारण मान्न सकिएला । नेकपामा पौडेल भन्दा चलायमान, वरिष्ठ र प्रतिभाशाली अन्य नेताहरुको मौजुदी नभएको होइन । दीर्घ साधना र शालिनताको हिसावले नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर, थापा, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेल, जस्ता वरिष्ठ नेता हुँदाहुँदै पौडेलले हानेको या छलाङ्ग युवा पुस्ताका लागि प्रेरणादायक बनेको छ । उसो त माक्र्सवादका अद्वितीय अध्येता घनश्याम भुसाल, जनताको वहुदलीय जनवादमा अतिरित्त दख्खल राख्ने नेताद्वय प्रदीप ज्ञवाली र शंकर पोखरेल, कुशल संगठक सुरेन्द्र पाण्डे र कस्मेटिक नेता योगेश भट्टराई, शालिन नेताद्वय पृथ्वी सुब्बा गुरुङ्ग र गोकर्णराज विष्ट मध्ये कसैले पनि नेतृत्वबाट धाप पाउन सक्ने हो भने पौडेलको बिकल्प बन्न सक्नुहुन्थ्यो । यी सबै वालिया संभावनालाई संभावनामै सीमित राखेर महासचिव पौडेल आफ्ने उद्धार आफै गर्न सफल हुनुभएको छ र आफुुले वोकेको संभावनाको भू्रणलाई वास्तविकतामा बदल्नु भएको छ ।
पिता पुत्र, गुरु चेला, पति पत्नी, कमाण्डर र सिपाही, मित्र र मित्र बीच मा जस्तै नेता र सहायक बीचमा पनि एक भावनात्मक समन्ध हुन्छ । उकालोमा बोक्न नसक्नु घोडाको गद्दारी हुन्छ भने ओरालोमा घोडा चढ्नु घोडचडीको गद्दारी मानिन्छ । कुनै समय सबै सहकर्मीबाट धोका र कृतघ्नता बेहोर्नु पर्दा अफ्ठेरोमा परेका बर्तमान प्रधानमत्री ओलीलाई दरो साथ दिदाको प्राप्तिको रुपमा पौडेलको उदयलाई लिदा पनि अत्युक्ति नहोला । नेता पौडेलको व्यक्तित्वले पनि उहाँको आगमनमा आधारको काम गरेको छ । नेता पौडेल र हिरो पत्रकार ऋषि धमलामा एउटा समानता छ । त्यो समान गुण हो एउटा शिर्ष नेताको नजिकमा रहेर अर्को र्शीर्ष नेताप्रति घातक र कू्र नहुने सदाचार । नत्र औसत मान्छेहरु एउटा ठूलो नेताको प्रिय बन्न र उसबाट केही झार्न अर्को नेतामाथि घातकभन्दा घातक व्यवहार गर्न संकोच मान्दैनन् । पौडेल कमरेडले २०५९ तिर हाल प्रधानमन्ज्ञी केपी ओलीलाई समाप्त पार्न जुनसुकै हर्कत पनि गर्न धक नमान्ने तत्कालीन संस्थापनका सहायकको भिडवाट पृथक भुमिका निर्वाह गर्नु भएको थियो । पार्टीले लगातार पूर्वाग्रही ढंगले भूमिका विहीन पारेका म लगायतका ५२ जना बन्धुहरुको ज्ञापन पत्रलाई संस्थापनले डस्विनमा फालिसकेको बेला नेता पौडेलले कोटेश्वर र वालकोट वीचमा पुल बनेर दुई किनारा बनेका एमालेका दुई खेमालाई जोड्नु भएको थियो । माओवादीको उत्कर्षकालमा ओलीलाई काँध थापे पनि झलनाथ खनाल सरकारमा रक्षामन्त्री बनेर सन्तुलनकारी भुमिकामा पौडेल रहनु भयो । अव भने नेता पौडेलले आवश्यक परे नरम, सन्तुलनकारी र कडा स्टेप लिन सक्नु पर्ने छ । किनकी सबैको अप्रिय बन्नु मात्र कमजोरी होइन, कहिलेकाँहीँ सबैको प्रिय बन्नु पनि राजनीतिमा महंगो सावित हुने गर्छ । माक्र्सवादले यसपूर्व कुनै दर्शन र दार्शनिकले नबोलेको वर्ग संघर्षका बारेमा बोलेको सत्य हो तर नेतृत्वका अनेकौं किसिम र तिनका आचरणहरुको विविधतामाथि विसद चर्चामा पूर्वीय आध्यात्मवाद अगाडि छ । संक्षिप्तमा भन्नु पर्दा महासचिव पौडेलले शिरमा जनता र काँधमा पार्टी राखेर अघिवढ्नु पर्नेछ र गीताले भनेझै आस, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, पुरस्कार र तिरस्कारबाट अप्रभावित हुन सक्नु पर्ने छ ।
नेता पौडेलमाथि अनुकूलता नै अनुकूलता मात्र छैन चुनौतीको पहाड पनि छ । जननेता मदन भण्डारी जोड दिनु हुन्थ्यो कि ‘हरेकले आफ्नो औकात राम्ररी थाह पाउनु पर्दछ ।’ प्रतिष्पर्धाको यो युगमा पौडेलको अगाडि पाखा लाग्नु परेका धेरैलाई मरिच चाउरियो आफ्नै रागले भन्ने कुरा थाहा छ । कतिपय विकल्प प्रदान गर्ने हस्तीहरु मन्त्री र मुख्यमन्त्रीमा हुनुले पनि पौडेलका लागि मैदान खाली भैदियो । अर्कातर्फ पूर्व एमालेका चार शीर्ष नेता टावर भएको र अन्य नेताहरु मोवाइल सेट मात्र रहेको वास्तविकता स्वीकार गर्दै चार जना शीर्ष नेताको अप्रिय नबन्ने कौशलतामा श्रेष्ठता हासिल पौडेलले नै गर्नु भयो । यसका अतिरीक्त पूर्व माओवादीका पार्टीका प्राधिकार व्यत्तित्व पुष्पकमल दाहालको सद्भाव र धाप बटुल्न सक्ने पहिलो नेता पनि पौडेल नै बन्न सक्नु भयो । हात्ती, घोडा, गाई भैसींका बच्चा जन्मिदा साथ दौडने गर्छन् तर बिरालाका बच्चाहरुका आँखा पन्द्र वीस दिन पछि मात्र उघ्रिने गर्छन् । राजनीतिमा दूरदर्शी र जुम्सोपनको हकमा पनि यही नियम लागु हुन्छ । जवजको च्याप्टर क्लोज भन्ने नेतालाई आफैले आफुलाई च्याप्टर क्लोजको अवस्थामा भेटाउने कुराको अनुमानसम्म थिएन । ओलीलाई सन्दर्भहीन सन्यासको बाटो देखाउने नेता आफै राजकीय भूमिकाबाट वन्चितीकरणका हिसाबले उल्टै सन्यासी बन्न विवश हुनुले अझै पनि कम्तीमा एक दशकसम्म नेकपाको शीर्ष वरियतामा रहनु भएका पाँच नेता मध्ये एकको नजरमा नपरी धम्काउने, बम्किने र झार्ने बारेमा कसैले कल्पना मात्र गर्छ भने त्यो दिवा स्वप्ना हो भन्ने सत्य प्रमाणित भएको छ ।
महाधिवेशनबाट निर्वाचित नभएकाले महासचिव पौडेललाई गणेश प्रवृतिको उपज भनेर आलोचकहरु तुल्टिकरणमा रमाइरहेका छन् भने उनीहरु ठुलो भ्रममा छन् । किनकी पूर्व एमालेमा पाँचौँ राष्ट्रिय महाअधिवेशनदेखि नवौं महाधिवेशनमा अपराजित र लगातार सिँडी चढेको थोरै मात्र नेताहरु मध्येमा पौडेल एक जना पर्नु हुन्छ । लामा धर्सो तानेर होइन कि अर्काको धर्सो छोटो पारेर लामो धर्सो कोर्ने कंश प्रकृतिको नेतृत्व विकास शैली पौडेलमा देखिदैन । पूर्व र पश्चिमका कतिपय हस्तीले सहकर्मी माथि असहिष्णु भएर आफ्नो मार्ग प्रशस्त गरेका दृष्टान्त धेरै छन् । पौडेल पे्ररित पहिलेको लुम्विनी अंचलमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्णराज विष्ट, छविलाल विश्वकर्मा सबैको सहअस्तित्वको लक्ष्मण रेखा अनुलंघनीय रह्यो । अब अंचल र प्रदेश केन्द्रीत कार्यक्षेत्रवाट एकाएक राष्ट्रिय स्तरको र एकल पार्टी भन्दा एकीकृत भएको पार्टीको वृहत्तर कार्यभारलाई पौडेलले संवहन गर्नु पर्ने छ । बिगतमा सुदूरपश्चिममा पार्टी काम गरेको र पाल्पावाट २०५१ सालमा सांसद जितेको विगत हेर्दा महासचिव पौडेल पूर्व र पश्चिम नेपाल नजिकबाट चिनेको, पहाड र तराई दुवै ठाउँको राजनीतिमा उम्दा सावित भएको थोरै मात्र नेता मध्येमा पर्नु हुन्छ । सरकार संचालन र पार्टीका कामका दोहोरो अनुभव पनि उहाँसँग छ । यति हुँदाहुँदै पनि राजनीति निर्मम क्षेत्र हो । यहाँ दोहोरीमा जस्तै सयौं सद्गुण र सकारात्मक पक्षलाई एउटै दुर्गुणले दग्ध पार्न समय लाग्दैन । अधिनायकवादी, सामन्ती वा विरासतवाट चयन भएको नेतृत्व देउसी शैलीको हुन्छ र एउटाले भट्याउँदा सबैले साथ दिन्छन् । अमेरिका युरोपमा जस्तै पूर्व एमालेले विकसित गरेको प्रतिस्पर्धात्मक नेतृत्व प्रणाली नेकपाको पनि सम्पत्ति भएको हदसम्म महासचिव पौडेलले चुनौती र जटिलताको सामना गरेरै आफुलाई श्रेष्ठ साबित गर्नु छ ।
२०२७ सालको दशकदेखि शक्तिको निरन्तर र असिीमित अभ्यास गरेका आधा दर्जन शीर्ष नेतासँग व्यवहार गरेको पार्टी पंतीले पूर्व एमाले महासचिव ईश्वर पोखरेललाई महासचिवका रुपमा मदन भण्डारी र माधव नेपाल लाई जति आत्मसाथ गर्न नसकेको तथ्य पौडेलमाथि पनि लागु हुन सक्ने चुनौती छ । भर्खरै रसवरी खाएको जिव्रोले चियालाई तातो पानी वरावर मान्छ । किनेको भैसीे नयाँ गोठालोलाई नपग्री दिएर फिर्ता हुने व्यापारिक जटिलता राजनीतिमा नयाँ भूमिकामा आएको नेतामाथि आइपर्ने गर्छ । ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम जस्ता नेतासँग व्यवहार गरेका नेता कार्यकर्ताले परिवर्तन संसारको नियम हो भन्ने कुरालाई आत्मसाथ गर्नु जति जरुरी छ त्यतिनै विकल्प प्रदान गर्ने योग्यता, क्षमता र आँट भएका हस्ती जतिले नेता र कार्यकर्तारुपी बजारको माग अनुरुप आफुमा आपूर्ति क्षमता वृद्धि गर्नु जरुरी छ । नेकपा (माले) र नेकता (मशाल) को सस्थापक रहेका नेताहरुको नेतृत्यमा रहेको नेकपामा विष्णु पौडेलको महासचिव चयनसंगै नयाँ पुस्ताको हस्तक्षेप र पहुँच अभिवृद्धि भएको छ । सत्तारुढ दल भएकोले नेकपा लाई आन्तरिक संकटवाट मुक्त राख्ने दायित्व पनि नयाँ पुस्ताको हो । शक्तिमा पुग्दा समेट्नु र सकसमा पर्दा समालिनुको सन्तुलनमा रहेर नेकपाका हरेक नेता कार्यकर्ताहरुले पार्टीलाई भिरको डिलमा जानबाट वचाउनु छ र जनताको दिलमा राख्नु छ । पार्टीको मियोको रुपमा महासचिवको कार्यभारको कम महत्व छैन । महासचिव पौडेलले आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर आफ्नो सक्रियतालाई बढाउनु हुनेछ । मनमोहन अधिकारी र मदन भण्डारीको पालामा भएको एकता त दुई पार्टीको दोभान मात्र थियो । यस पटक केपी ओली, पुष्प कमल दाहाल र नारायण काजी श्रेष्ठ सहितको यो एकता तीन नदीको त्रिवेणी जस्तै रहेको छ । धार्मिक पर्यटनका दृष्टिले त्रिवेणीको महत्व रहेजस्तै आशा गरौँ वामपन्थी, लोकतन्त्रवादी र देशभक्त जनमतको त्रिवेणीका रुपमा रहेको नेकपा लाई असल र योग्य नेताहरुको नर्शरी बनाउन महासचिव पौडेलको उदय वरदान सवावित हुनेछ ।