बागलुङ, “पढने इच्छा छ, स्कूल टाढा छ”, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भन्नुभयो । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गर्नुभएका सिरपालीको विद्यालय यात्रा कक्षा ५ मा पुगेर रोकियो ।
कक्षा ५ पढ्न डेढ घण्टा हिँडेर नर्जा गाउँको विष्णु आविमा पुग्ने सिरपालीले बीचमै विद्यालय छोड्नुभयो । “बिरामी भएर हिँड्न नसकेपछि पढाइ छोडेँ”, उहाँले भन्नुभयो, “घरमा सबैले पढ भन्नुहुन्छ, मलाई पनि पढ्न मन छ ।”
पात्ले गाउँका विद्यार्थीले मावि तह नर्जामै पढ्न पाए पनि मावि तह पढ्न तीन घण्टा हिँडेर खुङ्खानी पुग्नुपर्छ । खुङ्खानीको शान्ति माविमा पढ्ने सिरपालीका दाइ जगतले हाजिरी नपुगेपछि गएको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन पाउनु भएन् । उहाँ पनि दैनिक तीन घण्टा हिँडेर विद्यालय जाने गर्नुहुन्थ्यो । विद्यालय टाढा भएकै कारण पात्ले र सोही वडाको अर्को गाउँ भित्रीवनका विद्यार्थीले बीचैमा विद्यालय छोडन् बाध्य छन् ।
ती गाउँबाट मावि तह पढ्न खुङ्खानी जाने विद्यार्थीमध्ये करीब आधाले बीचैमा पढाइ छोड्ने गरेको शान्ति माविका प्रधानाध्यापक सत्यनारायण सिंहले बताउनुभयो । भौगोलिक विकटता, अशिक्षा र बेरोजगारीका कारण तमानखोलामा विद्यालय छोड्नेको संख्या अत्यधिक छ ।
“घण्टौँ हिँडेर आउँदा गुणस्तरीय सिकाइमा प्रभाव पर्छ”, प्रअ सिंहले भन्नुभयो, “थकान र दबाबमा विद्यार्थीले पढ्न सक्दैनन् ।” उहाँको बुझाइमा गरिबीले पनि विद्यार्थीलाई पढाइ छोडन् बाध्य पारिरहेको छ ।
पात्ले गाउँकै सिर्जना सिरपालीले पनि कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छोड्नुभयो । “बाटो पनि टाढा भयो, बिरामी पनि भएँ”, उहाँले भन्नुभयो, “अहिले गाईभैँसी हेरेर बस्छु, घरको काम गर्छु ।” कक्षा ५ पढ्न नजिकमा विद्यालय नभएपछि पात्लेका विद्यार्थी टाढाको विद्यालय जान बाध्य छन् । पात्लेबाट नर्जामा रहेको विष्णु माविमा जान डेढ घण्टा हिँड्नुपर्छ ।
पात्ले र भित्रीवनमात्र होइन नर्जा गाउँको पनि समस्या उस्तै छ । नर्जामा रहेको विष्णु माविका प्रधानाध्यापक ओमप्रसाद छन्त्यालका अनुसार गत शैक्षिक शत्रमा आठजनाले विद्यालय छोडे । बसाइँसराइका कारण पनि विद्यार्थीले विद्यालय छोड्ने क्रम बढेको उहाँको भनाइ छ ।
“विकटता, गरिबी, बेरोजगारीजस्ता कारणले विद्यार्थीले बीचैमा पढाइ छोड्छन्” उहाँले भन्नुभयो । दुर्गम गाउँमा पढाइ छोडेर रोजगारीका लागि विदेशिने युवाको संख्या बढी छ । अभिभावकमा पनि पढाइको महत्वबारे बुझाइ कम छ ।
पात्ले, भित्रीवन र नर्जाभन्दा अलि नजिकको गाउँ खुङ्खानीमा पनि विद्यालय छोड्ने क्रम उस्तै छ । तमानखोला–५ खुङ्खानीका भीमबहादुर गोतामले छ महिनाअघि विद्यालय छोड्नुभयो । शान्ति मावि कक्षा ७ पढ्दापढ्दै छोडेका गोतामे अहिले घरधन्दा गरेर समय बिताउनुहुन्छ । उहाँले आमा बिरामी परेपछि घरको काम धान्न पढाइ छोडेको बताउनुभयो । उहाँले फेरि पढाइ शुरु गर्ने सोच बनाउनुभएको छ ।
तमानखोला–१ स्थित जनजागृति मावि गाउँपालिकाकै अगुवा विद्यालय हो । तुलनात्मक रुपमा केही सुगममा रहेको उक्त विद्यालयमा पनि पढाइ छोड्ने समस्या बढी छ । वर्षेनी १५ प्रतिशत विद्यार्थीले बीचमै विद्यालय छोड्ने गरेको प्रअ प्रेमबहादुर खड्काले बताउनुभयो । उहाँको बुझाइमा पनि विद्यालय छोड्नुमा गरिबी, अशिक्षा र बेरोजगारी प्रमुख कारण हुन् ।
तमानखोला हेर्ने जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति बेदबहादुर बुढाले सबैलाई विद्यालयको पहुँचमा ल्याउन नसकिएको स्वीकार गर्नुभयो । “विगतको तुलनामा धेरै सुधार त भएको छ”, उहाँले भन्नुभयो, “अझै पनि विद्यालय छोड्ने प्रवृत्ति देखिन्छ ।” उहाँले अभिभावकमै पढेर के हुन्छ र भन्ने धारणा व्याप्त रहेको बताउनुभयो । विदेश मोहका कारण पनि अधिकांशले बीचमै पढाइ छोड्ने गरेका छन् । जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यालयले पढाइ छोडेका बालबालिकालाई विद्यालय भर्ना गर्न वर्षेनी विशेष कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
–रामबहादुर थापा