दयालबहादुर शाही
आज कांग्रेस आतिएको छ । कांग्रेस आतिनु अस्वभाविक पनि होइन । किनकि ऊ विगतमा उत्कर्षको बेला मातिनुसम्म मात्तिएको थियो । असहज अवस्थामा त्यही शक्तिमात्र आशा र आँट गुमाउँदैन । जसले उत्कर्षको बेला मर्यादाको उग्लघन गरेको हुँदैन । यो कांग्रेस त्यही कांग्रेस हो, जससँग सत्तारुढ छँदा प्रमुख प्रतिपक्ष दलको संसदीय दलको नेतासम्मलाई गिरफ्तार गरेको कालो इतिहास छ । विपक्षी दललाई अनादर गर्नु जस्तो कलंको कालो टिका ग्रहण कांग्रेसले २०४८ सालको कमचारी आन्दोलनको बेला ग¥यो । मनमोहन अधिकारी जस्तो शालिन नेतालाई सुरक्षा दिने निहुँले प्रहरी नियन्त्रणमा राख्ने हर्कत गर्न धक नमान्ने कांग्रेस आज उल्टै एमालेलाई अधिनायकवादी भनेर वितृष्णा बढाउने दाऊ हेरिरहेको छ । कम्युनिष्ट अधिनायकवादको हाउगुजी देखाएर जनताबाट बहिष्कृत हुनु परेको पीडा भुल्ने अभ्यास गर्दैछ । जनताको भोगाइ छ कि कांग्रेस लोककथाको यस्तो स्याल जस्तो छ कि जसले चील आयो भनेर गाउँले भुलाएर गाउँभरिका खुकुरा सिध्याउँछ । यति चाँडै जनताले कांग्रेसका प्रति पालेका कोप घटाउने र क्षमा दिने सम्भावना छैन । पुनर्जीवन र पुनर्उत्थानका लागि जति प्रयासहरु गरेपनि निरर्थक हुने पक्का छ ।
चुनाव हारेका कम्युनिष्टहरु लोकतान्त्रिक हुने तर चुनावी संग्राममा विजय हुँदा तिनै कम्युनिष्टहरु अधिनायकवादी भइहाल्ने र कम्पनीमा परिणत हुने कांग्रेसको दावी निम्छरो र घोर पुर्वाग्रही छ । कांग्रेसलाई दिनैपर्ने दण्डको मुहान भूकम्पले गर्दा मुलुक आक्रान्त भइरहेको बेला भारतले लगाएको नाकाबन्दीलाई सकार्ने र सघाउने देशप्रतिको गद्दारी र जनताप्रति द्रोह थियो । संकटको बेला एक अपरिपक्व युवकमा परिपक्वता देखियो तर कांग्रेस चुक्यो । डेरीको दुध खाएर हुर्केको तर गाइभैंसी नदेखेको, जुस खाएर हुर्केर तर उखु नदेखेको, किनारा पसलबाट दाल र चामल किनेको तर धानबाली र तेलहन बाली नदेखेको एउटा किशोरले नाकाबन्दीमा तेल नपाउनु हैकमबादको खेल हो तर, सरकारको रहर होइन भन्ने चेत राख्यो । युवापुस्ता यस्तो परिपक्वता देखाएर वीर पुर्खाको विरासत धान्यो । देशभक्तको परिचय पत्र नवीकरण गर्न आम नेपाली युवा स्वभिमानको शक्तिसाल बन्दै गर्दा आफूलाई देशको सबैभन्दा ठूलो र पाको पार्टी बताउँने कांग्रेसको विवेकको बत्तीमा फ्युज गयो । त्यति बेला कांगे्रस भारतसामु मैनझै पग्लियो सरिसृप झै लम्पसार भयो ।
चुनावमा जनताले उसको कोटेको कदकाँटी यसैको परिणाम हो ।
एमालेले कुनै जादू गरेको छैन । भएको यतिमात्र हो कि जनताबाट ढुंगामुढा गराएर तत्कालीन ओली सरकारलाई सडकबाटै हटाउने घातक सडयन्त्रको कांग्रेस गोटी बने पनि जनताको दया र अनुकम्पाले एमाले बच्यो । जनताको अनुकम्पाले गर्दा परिणाम उल्टो आयो । एमालेविरुद्ध रचिएको चव्रmव्युह कांग्रेस आफैका लागि घातक भयो । जनताको साथ र संरक्षणकै कारण भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरको पालादेखिको देशभक्तिको विरासत एमाले संस्करणमा नविकरण गर्न तत्कालीन ओली सरकार सफल भयो । एक लोटा पानी दिन्न भन्नेको घरबाट दही खाएर हिड्न सक्नुको अर्को नाम नै व्यवहार कला हो । तेल दिन्नौ भन्ने शक्तिशाली छिमेकीलाई रेल दिन्छौ भन्न बाध्य पार्नु नेपाली जातीले पाएको सफलता हो र ओली सरकारको चमत्कार । यो सत्यको विजयको नविनतम दृष्टान्त पनि हो । लम्पसारबादको उपासक कांग्रेस देश र जनताको विजयमा रमाउनुको सट्टा उल्टै वर्तमान सरकारलाई लम्पसारवादी भनेर आफ्नो कालो अनुहारमा सेतो रंग पोत्दैछ ।
चरम एमालेद्वेषी राजनीतिकका कारण कांग्रेस पतनको भागेदार बन्यो । एमालको उदय भएकोमा कांग्रेस इष्र्याले जलेको छ र खरानी बनेको छ । आज का्रग्रेस नाकाबन्दीको बेला एमालेसँगको रिसले देशका विपक्षमा उभिएकोमा भित्रभित्र न्याउरी मारी पछुतोको निष्कर्षमा पुगेको भएपनि खुलम खुला अपराध बोध गरेर जनतासामु माफ माग्न तयार छैन । जनताबाट दण्डित भएपछि मात्र अपराधकर्मलाई सामान्यकरण गर्दै, ‘नाकाबन्दी नभन्नु गल्ती थियो भनेर आफ्नो मन्दबुद्धि प्रदर्शन गरिरहेको छ । मानौ, बलात्कारीको प्रलोभनमा परेको अविभावक नै चीरहरणलाई आत्मैदेखि अपराध हो भन्नुको सट्टा लोकलाजबाट बच्नका खातिर बनिरहेको छ, ‘बलात्कारलाई बलात्कार नभन्नु भूल मात्र थियो, मिलेमतो थिएन ।’ आफ्नो खराब नियतको उपचार नगरेसम्म कांग्रेसको पतनमा जनताले आफ्ना दुर्लभ नुनिला आँशु बगाउने बगाउँने छैनन । जनताको दिनबाट कांग्र्रेस भीरको डिलमा उभिनुका आधार र कारणहरु निम्सरा छैनन्, जबरजस्त छन्, एक छैनन्, अनेक छन् । रक्षक नै भक्षक हने अवस्था रहेसम्म सभ्य समाजले खलपात्रको हातमा संरक्षकको जिम्मेवारी सुम्पिँदैन । जसरी पीडकको प्रलोभनमा परेको संरक्षकको जिम्मामा बलात्कारपीडित बालिकालाई फेरि लगाउन सकिँदैन त्यसरी नै राष्ट्रको मियोको भूमिकालाई हल्का रुपमा लिएर नाकाबन्दीको बोल देश र जनताप्रति गद्दारीप्रति प्रायश्चित्त गर्दै माफी नमागेसम्म कांग्रेसलाई जनताले पुनर्जीवनको भिक्षा दिने छैनन् ।
आज कांग्रेसभित्र अपजसबाट उम्किन उछिनपाछिन छ । अपजस बोक्ने र सुध्रिने इच्छाशक्तिको खडेरी छ । कोइराला क्याम्प अबजसको सम्पूर्ण दोष सभापति शेरबहादुर देउवाको थाप्लोमा थोपर्न निपूर्ण बन्दैछ । जवाफदेहिता देउवाको शब्दकोषमा नअँटेको शब्द नै हो । हो, एमालेद्वेषीे राजनीतिको सरुवात कर्ता कोइराला क्याम्प थियो । कांग्रेसको गैरसंस्थापन पक्षको भूमिकामा छँदा देउवाको पनि एमालेद्वेषी राजनीतिमा कुनै विरोध र फरक मत रहेन । एमाले आवरणको जनद्वेषी लम्पसारवादलाई देउवाको पल्लामा सुदृढ पारिँदा पौडेल, सिटौला र कोइराला परिवार तेस्रो पुस्ताका थुपारिएका कांग्रेसजनको कुनै आपति र विमती रहेन ।
माग्न जान्ने दिन नजान्ने महारोगले कांग्रेसलाई थला परेको छ । २००७ साल, २०४६ साल र २०६३÷०६३ सालको जनआन्दोलनमा कांग्रेसको नायकत्व स्वीकार गर्ने वामपन्थीहरुको चौडा छाती र सुझबुझलाई कांग्रेसले कमजोरी ठान्यो । एमालेले २०५१ सालमा आफ्नै बलबुतोले सरकार गठन गर्दा होस् वा २०६५ सालमा माओवादीले सरकार गठन गर्दा होस् कांग्रेसले भाग खोसेको ठान्यो र देखि सहेन । ती सरकार नढाल्दासम्म कांग्रेसले चैनको सास फेरेन । जबकि, एमाले र माओवादीले २०६४ सालतिर गणेमान सिंह र कृष्णप्रसाद भट्टराई २०६२–६५ तिर गिरीजाप्रसाद कोइरालालाई दिलदेखि नै सघाएका थिए । बचनमा नआडिनु सुजाता कोइरालाको हैसियतजन्य कमजोरी होला । नत्र कुनै नेला नेतृ कोइरालाले अन्तरआत्माको यसरी बाहिर आएको थियो, ‘एमाले र सबै वामपन्थीहरुले गिरिजा बाबुलाई सघाउन हुने, आज कांग्रेसले केपी ओलीलाई किन नसघाउने ?’
राजनीतिमा जग गतिलो नभएकाले सुजाता कोइरालाको विवेकलाई कांग्रेसले दबायो । दुई ठूला पार्टी एक भएर चुनावमा गठबन्धन कसेर अर्को ठूलो दललाई नामेट पार्ने घातक मिसाइल कांग्रेसले एमाले विरुद्ध अख्तियार गरेको थियो । जनताको सहानुभूति राजनीतिमा शक्तिशाली हुन्छ, न कि घातक प्रकारको समीकरण । स्थानीय तहको चुनावमा घातक मिसाइलबाट जनताजनार्दनले एमालेलाई बचाए भने का्रग्रेस नेतृत्वको गठबन्धनलाई दण्डित गरे । त्यही मिसाइल कांग्रेसविरद्ध प्रयोग हुँदा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा जनताको सहानुभूति रहेन । बरु उसको पतनमा रमिते बनिदिए । जसका कारण कांग्रेसले अस्तित्वबाट हात धुनु पर्ने संभावना वास्तविकतामा बदलियो ।
चुनावमय वर्ष २०७४ साल कांग्रेसको लागि अभिशाप बन्यो भने एमाले र बामगठबन्धनका लागि फलिफाप सावित भयो । एमाले जनता जनार्दनको साथ, धाप र आर्शिवादले उठेको छ । कांग्रेस जनताको कोपका कारणले थला परेको छ । दुई हजार वर्षअघि आचार्य चाणक्यलाई एमालेको उदय र कांग्रेसको पतन हुनेछ भन्ने थाहा थिएन । तर, कस्ता शक्तिको उदय हुन्छ र अटल रहन्छन् र कस्ता शक्तिहरु हराएर जान्छन् भन्ने चाणक्यको निष्कर्ष सर्वकालिक र सार्वभौम छ । उनको भनाइ छ, ‘जनताको शक्ति संसारको सबैभन्दा ठूलो शक्ति हो । जनताको कोप भन्दा बढेर अन्य कुनै कोप हुँदैन ।’ अर्थात् जनताको विश्वास जित्न सक्ने, जनताको शक्तिको सर्वोच्चता, सर्वोपरिता र सावैभौमिकता थाहा पाएर जनताको एकतालाई मज्बुत पार्ने, जनताको संगठनलाई बलियो पार्ने र नेतृत्व प्रदान गर्न सक्ने शक्तिको उदय हुन्छ भने जनतालाई कठपुतली ठान्ने, आदेशपालक र नीजि सौन्दयैकर्मी ठान्ने अहंकारी, लक्ष्यच्युत, सपना शुन्य, भावना शुन्य र योजना शुन्य जत्थाको पतन अवश्यंभावी छ भन्ने चाणक्यको निष्कर्ष छ ।
राजनीति दलहरु जनताका लागि हुन् न कि राजनीति दलको कुनै एक महत्वकांक्षी नायकका लागि । कांग्रेसले उल्टो प्रयोग ग¥यो । विगतका दुई दशकमा उसले जनतालाई आफ्ना आय आर्जनका साधनमात्र ठान्यो । एमालेले त्यस वेतथिलार्ई उल्टाएर नेपाली जनताको चेतना र एकतालाई विश्व समुदायमाझ चम्काउँदैछ । चाणक्य नीति भन्छ, ‘कमजोर घाँस पनि एकसाथ मिलेर डोरीका रुपमा परिवर्तन भयो भने हात्ती समेत त्यसको अगाडि असहाय भइदिन्छ ।’ देशभक्त जनताको आडमा एमालेले महाशक्ति भारतलाई निधार खुम्च्याएर सोच्न बाध्य पारेको छ । जनताको एकतालाई मज्बुत पारेर, संगठन गरेर तथा नेतृत्व प्रदान गरेर एमालेले कांग्रेसको कुनै बिगार गरेको छैन । तर कांग्रेस यो सत्य स्वीकार गर्न तयार छैन । किनकि, सत्यसँगको दुश्मनीको अर्को नाम नै कांग्रेस हो । कांग्रेसको सत्यसँग दुश्मनी २०४८ सालदेखि नै परेको हो । जनताको कोपलाई २०४८ देखि २०५८ को दशकमा कांग्रेसले चरमचुलीमा पु¥याएको थियो । कांग्रेसको सौभाग्य हो कि माओवादी जनयुद्ध, एमालेको विभाजन र एकाएक राजनीतिको केन्द्र भागमा आएका व्यापारी राजाको सिमाहिन महत्वकांक्षा र मर्यादाको उग्लघनले गर्दा कांग्रेसप्रतिको कोप छायाँमा परेको थियो । शान्ति प्रक्रियामा आएर सरकारको बागडोर सम्हाली सक्दा पनि माओवादीमा परिपक्वता देखिनुको सट्टा सुरुवाती अवस्थामा बिद्रोही चेतको अधिकता देखियो र विजय उन्माद हावी भयो ।
जसका कारण कांग्रेस बिना देश चल्दैन भन्ने अन्धविश्वास २०७० तिर जबरजस्त भएर आयो र कांग्रेसले पुर्नजीवन पायो । अधिनायकवाद नसहने जनताको बाध्यात्मक समर्थन र विश्वासको विसाउनी कांग्रेस भयो । आफ्नाप्रतिको कोपले दिशा बदलेको कांग्रेसले थाहा पाएन । जनसमर्थन पाएपछि कांग्रेसले आफू पुरक परिक्षार्थी मात्र रहेको सत्यलाई बिर्सियो । फेरि २०४८ र २०५८ को दशकको जस्तै हालिमुहाली, एकाधिकार, उपयोगितावाद, फुटाउ र राज गर, नाफाआर्जन गर र समिकरणको खेतीमा हात धोएर लाग्यो । जनताको कोपको अनुमान लगाउन कांग्रेस नराम्ररी चुक्यो । आज चुनावी परीक्षाको समीक्षा गर्दा पनि का्रग्रेसको सत्यसँग दुश्मनीको सिलसिला जारी छ । जनताको कोप महँगो भएर आफू धरासयी भएको सत्य आत्मसाथ गर्नुका सट्टा आनाकानी विषयान्तर गर्नमा पारंगत देखिँदैछ ।