नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले अब मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने बताएका छन् । प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताए ।
उनले कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै भने, ‘तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउछौँ ।’ उनले आफूले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राखेका थिए ।
नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रभन्दा एमालेको बढी भएको समेत बताए । ‘ठूलो पार्टीको हिसाबले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ’ उनले भने, ‘पार्टी एकता गर्दा धेरै दिनुपर्ने भए पनि एमाले तयार हुनुपर्दछ ।’
उनले पार्टी एकता गर्दा दुई पार्टी एकअर्कामा विलय नभएर एक अर्कामा गाभिएर नयाँ शक्तिशाली पार्टी बन्ने बताए । उपाध्यक्ष गौतमले अहिले दुई पार्टीबीच छैटौँपटक पार्टी एकताको प्रयास भइरहेको भन्दै अहिलेको प्रयासलाई सफलता पु¥याउने बताए ।
दुई पार्टीबीच एकता नभए मुलुकमा ठूलो दुर्घटना हुने बताउँदै भने, ‘दुई पार्टी मिल्न सकिएन भने ठूलो मूल्य चुकाउनु पर्दछ ।’
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएका गौतमले संविधानको गलत व्याख्या गरेर वाम गठबन्धनको सरकार गठनमा ढिलाई भएको उल्लेख गर्दै उनले भने, ‘प्रतिनिधिसभाले सरकार बनाउने हो । राष्ट्रियसभाको सरकार बनाउनका लागि कत्ति पनि भूमिका रहदैन । तर संविधानको गलत व्याख्या गरेर राष्ट्रियसभाको निर्वाचन नभई सरकार बनाउन दिइएन ।’ अबको सरकारले भारतसँँग राम्रो सम्बन्ध बढाउनका लागि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएको पनि गौतमले बताए ।
सो अवसरमा एमालेका सचिव योगेश भट्टराईले अबको राजनीतिक एमाले र माओवादीको निर्णयबाट प्रभावित हुने बताए । उनले कसैको मनोगतले पार्टी एकता नरोकिने भन्दै वामशक्तिको बलियो धु्रवीकरण बन्ने बताए । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले वाम गठबन्धनको सरकारले अहिलेको भन्दा १० गुणा बढी प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने समेत बताए ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वाम गठबन्धनले राजनीतिक आन्दोलन पूरा गरेको भन्दै अब गठबन्धनकै नेतृत्वमा मुलुकमा आर्थिक विकास हुने बताइन् । उनले परिवर्तनको आन्दोलनमा प्रेसको भूमिका भएजस्तै अब मुलुकको आर्थिक र सामाजिक विकासमा पनि प्रेसको भूमिका हुनुपर्ने उल्लेख गरिन् ।