प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्या्दित र संघीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे सर्वदलीय बिहीबार आयोजित बैठक सम्पन्न भएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोशाक, भाषा, सिट निर्धारण, अध्यक्षमण्डलको मनोनयन, अन्तरिम कार्य्विधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्य व्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीकचिह्नलगायत विषयमा छलफल भएको थियो ।
सङ्घीय संसद् सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न यहाँ आएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बण्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिए ।
सरकारबाट प्रदेशसभाक लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्य्विधि, २०७४ को मस्यौदा विस्तृत अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
























