काठमाडौं, २९ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । शनिबार राजधानीमा दोलखा–काठमाडौँ सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए ।
‘सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ’, उनले भने, ‘होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस् ।’ उनले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको धारणासमेत व्यक्त गरे ।
उनले वामगठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गरे । पूर्वसभामुख नेम्वाङले व्यवहारमा एमाले र नेकपा (माओवादी केन्द्र) एक भइसकेको भन्दै अब सैद्धान्तिक हिसाबले मात्र एक हुन बाँकी रहेको बताए ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्तरुप दिने बताउनुभयो । उनले मुलुकमा राजनीतिक दलको निर्वाचन प्रतिस्पर्धा सकिएकाले अब समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको पनि बताएका थिए ।
सो अवसरमा दोलखाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेशसभा सदस्य पशुपति चौलागाईँ र विशाल खड्काले दोलखाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
























